काठमाण्डौ,८ मंसिर ।
सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देशमा विषम परिस्थिति सिर्जना नभएसम्म सरकारले सेना परिचालन नगर्ने तर देशको शान्ति सु–व्यवस्थामा खलल पर्ने अवस्था आए संविधान अनुसार सेना परिचालन गर्न सकिने बताउनुभएको हो
मन्त्री राइले सेना परिचालन र प्रशासनिक दवाब दिएर तराईको आन्दोलन नियन्त्रण नहुनेमा जोड दिनुभयो । उहाँले देश संकटकाल तर्फ गईसकेको भन्ने निष्कर्ष सरकारले ननिकालेको तर अर्थतन्त्रमा उत्पन्न समस्याको बारेमा श्वेत पत्र जारी गर्ने तयारी भने भईरहेको बताउनुभयो ।
अघोषित नाकाबन्दी र तराईमा भईरहेको हिसांत्मक गतिबिधिले ईन्धन र औषधीको अभाव हुन थालेको बताउँदै मन्त्री राईले नेपालमा मानवीय संकट देखिन थालेकोले जनतालाइ सास्ती दिने कार्यको अन्त्य गर्दै राजनीतिक निकास खोज्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो ।