काठमाडौ ७ मंसिर ।
उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले भारतीय नाकाबन्दीपछि मुलुकमा उत्पन्न सङ्कट समाधानका लागि सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता जोगाउनका लागि अहिलेको सङ्कटको मिलेर सामना गर्नुको विकल्प नभएको बताउनु भएको हो ।
विगतमा शासक र राजनीतिक दलहरूले पाठ सिकेर अन्य मुलुकसँग समेत व्यापारिक सम्झौता गर्न नसक्नु ठूलो गल्ती भएको भन्दै उहाँले त्यही गल्तीबाट पाठ सिकेर अहिलेको सरकारले विभिन्न विकल्पहरूको खोजी गरिरहेको बताउनुभयो ।
सरकारले छिट्टै अन्य मुलुकसँग व्यापारिक सम्झौता गर्न लागेको उहाँको भनाई छ । मन्त्री केसीले मधेस केन्द्रित दलहरूले उठाएका अधिकांश मुद्दा नयाँ संविधानमा सम्बोधन भइसकेको र अन्य मागलाई पनि वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।