सिरहा, ७ मंसिर ।
प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएपछि हिजोदेखि अशान्त रहेको सप्तरी आज बिहानैदेखि तनावग्रस्त बनेको छ ।
मोर्चाका कार्यकर्ताले बिहानैदेखि स्थानीय प्रशासनले लगाएको कर्फ्युको उलंघन गरेर सदरमुकाम राजबिराज, रुपनी, भारदहसहित गाउँ गाउँमा प्रदर्शन चर्काएका छन् ।
सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट चार जनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।
जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेर घरेलु हतियारसहित प्रदर्शन गरिरहेका छन् । जिल्ला सदरमुकाम र राजमार्गमा भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यसैबीच सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञाको समय १२ घण्टा थप गरिएको बताउनुभयो ।