सिरहा, ७ मंसिर ।
सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ ।
संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध पुर्याउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा पुर्याएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न आइतबारबाट प्रत्येक दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको बताउनुभयो ।
मधेसी मोर्चाको आमहडतालका कारण जिल्लाको शान्ति सुरक्षा कायम राख्न र यातायात सञ्चालनका लागि भन्दै स्थानीय प्रशासनले गत कात्तिक ७ गतेदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान खोलाको पुलदेखि कमला खोलाको पुलसम्म दायाँ ५०० मिटर र बायाँ ५०० मिटरको क्षेत्रमा प्रत्येक दिन राति ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञा लगाउँदै आएको थियो ।