काठमाडौँ, ६ मङ्सिर ।
संसद्को विकास समितिले संघीय मामिला एवम् स्थानीय विकास मन्त्रालयलाई हालसम्म समितिले दिएका निर्देशन कार्यान्वयनको यथार्थ प्रगति विवरण पाँच दिनभित्र लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिको आजको बैठकमा स्थानीय विकास मन्त्रालयको चालु वार्षिक कार्यक्रमको प्रगति एवम् कार्यान्वयन स्थितिका बारेमा भएको छलफलपछि समितिले सो निर्देशन दिएको हो ।
बैठकमा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही, मन्त्रालय एवम् मन्त्रालयअन्तर्गतको निकायका पदाधिकारीसँगको छलफलमा सांसदले समग्र जिल्लाको विकास गर्ने योजना र भूकम्पोत्तर पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकतामा राखी अघि बढाउन सुझाव दिएका थिए ।
समितिका सभापति रवीन्द्र अधिकारीले स्थानीयस्तरका विकास निर्माणका कार्यमा देखिएका अधिकांश समस्यालाई स्थानीय निकायको निर्वाचनले सम्बोधन गर्ने भन्दै स्थानीय निकायको निर्वाचनका सम्बन्धमा सरकारको धारणा तत्काल उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
बैठकमा राज्यमन्त्री शाहीले स्थानीय विकासका कार्यक्रम सेवा र विकास दुवै पक्षका लागि महत्व भएको बताउँदै यसमा सरलीकरण गर्न मन्त्रालयले चाँडै विशेष कार्यक्रम ल्याउने जानकारी गराउनुभयो ।