काठमाडौँ, ६ मङ्सिर ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अघोषित नाकाबन्दीलगायत मुलुकले झेल्नुपरेका सबै समस्याको निकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
व्यवस्थापिका–संसद् परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले ‘नाकाबन्दी सर्वोपरि समस्या’ भएकाले त्यसको समाधानका लागि देशका सम्पूर्ण राजनीतिक शक्ति मिलेर अघि बढ्नाको विकल्प नभएको बताउनुभयो ।
राष्ट्रिय समस्या हल गर्ने सवालमा राजनीतिक दलबीच अन्तरविरोध हुनु शोभनीय होइन भन्दै उहाँले प्रमुख प्रतिपक्षी दलसँग संवाद, सहमति र सहकार्य गर्न सत्ता साझेदार दल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
एमाले एकलौटी ढङ्गले अघि बढिरहेको र वार्तामा उक्त दललाई सहभागी नगराइएको भन्ने सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग संवाद भइरहेको बताउनुभयो ।