काठमाण्डौ,५ मंसिर ।
विश्व बाल दिवसका अवसरमा बालबालिकाको चाहना शान्तिको स्थापना भन्ने नाराका साथ दरबार स्क्वायरको आँगनमा आज सामूहिक चित्रकला आयोजना गरिएको छ ।
विकल्प ज्ञान तथा विकास केन्द्र, बाल शान्ति कार्यक्रमले बालबालिकाको मनोभावनालाई उजागर गर्ने, तिनको मनमा शान्तिको चाहनालाई स्थापित गर्ने तथा हिंसामुक्त समाजको निर्माण गर्ने उद्देश्यले चित्रकलाको आयोजना गरिएको कार्यक्रमका संयोजक सुजन गुरुङले जानकारी दिनुभयो ।
सामूहिक चित्रकलामा गोल्डेन गेट इङलिस स्कुल, लिसा इङलिस स्कुल, पदम उमावि, बाल विकास इङलिस स्कुल, इजी पाइनियर इ्ङ्लिस स्कुल, जेन्युइन इङलिस स्कुल, मनोरम इङलिस स्कुल, सिर्जनशील स्कुल, पारागन एकेडेमी, मेधा मावि, विद्यार्थी निकेतन, भैरवी स्कूललगायतका विद्यालयका २५० भन्दा विद्यार्थीको सहभागिता थियो ।
हस्तकला प्रर्दशनी तथा बिक्रीबाट सङ्कलित रकमबाट बालापीठ गोठाटारस्थित बाल राष्ट्रिय निमाविका आर्थिक अवस्था कमजोर भएका १७० बालबालिकालाई जाडोमा लगाइने ट्र्याक सुट खरिद गरेर वितरण गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेले बताउनुभयो ।