काठमाडौं,४ मंसिर ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले विरगञ्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ ।
ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँ बराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको पर्सा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताउनु भयो ।
मोर्चाले हिजो औषधि आयात र ढुवानीमा रोक नलगाउने निर्णयपछि व्यवसायीले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए । ‘अति आवश्यक औषधि’ लेखिएको ब्यानर समेत ट्रकको अगाडि झुन्डयाइएको थियो ।
राति करिब १ बजेको समयमा मोर्चाका कार्यकर्ताले ट्रकमाथि ३ वटा पेटोल बम प्रहार गरेको ट्रकका चालकले जनाएका छन् ।
प्रहरी नायव उपरीक्षक बोगटीका अनुसार वीरगन्ज उपमहानगरपालिका १४ स्थित गोदाम अगाडि लोड गरेर पार्क गरिएको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको हो ।
स्लाइन पानी मार्फत दिइने एन्टीबायोटिक औषधी जनकपुरका लागि लोड गरिएको उक्त ट्रकको आगजनी वीरगन्ज बरुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताउनु भयो ।