उदयपुर मंसिर ३ गते । त्रियुगा नगरपालिका–१ बाबरी स्थित बरुवा खोलामा रहेको नदी जन्य पदार्थको चरम रुपमा चोरी निकासी हुदै आएको छ । खोला तथा नदीको ढुंगा बालुवा चोरी निकासीमा नेकपा माओबादी बिप्लब समुहले रोक लगाएको छ ।
अबैध रुपबाट खोलाको ढुंगा बालुवा उत्खनन् गरेको अबस्थामा नेकपा माओबादी पार्टी बिप्लब समुहको निगरानीमा आज बिहीबार दुईवटा ट्याक्टर समातेर प्रहरीलाई बुझाएको छ । सदरमुकाम गाईघाट बजारबाट ५ किलो मिटर टाढा रहेको बरुवा खोलाबाट ना ५ त ५६३ नम्बरको रबिन्द्र भट्टराई र अर्कोे ना ५ ३५८८ नम्बरको कैलाश खत्री समेतको गरी दुईवटा ट्याक्टर बिप्लब समुहको माओबादी कार्यकर्ताले समातेर जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएको नेकपा माओबादी जिल्ला सेक्रेटरी केदार राई जानकारी दिनुभयो ।
दिन दुईगुना रात चौगुणाले खोलाबाट बालुवागिटि तथा ढुंगा निकालेको सुचनाको आधारमा बिप्लब कार्यकर्ताले ट्याक्टर समातेको सेक्रेटरी राईले बताउनुभयो । नदीजन्य पदार्थ खोलाबाट निकाल्न अबैध भएको मौका छोपी भारीमात्रामा रातको समयमा निकाली सदरमुकामा लगि बेच्ने गरेको तथ्य सार्बजनिक भएको आधारमा नियन्त्रणको कदम चलाएको सेक्रेटरी राईले बताउनु भएको छ । सामान्य अबस्था भन्दा चौगुणा मूल्य बढाएर बिक्री गर्ने गरेको प्रहरीले बताएको छ । नदी तथा खोलाबाट ढुंगा बालुवा ननिकाल्न चन्द माओबादीले आग्रह गर्दै आएका थिए ।
यता भने प्रहरी र ढुंगा बालुवा बिक्री गिरोहको मिलेमहतोमा ट्याक्टर धनीले खोलामा गएर संकलन गरी उठाउने गरेको सर्बसाधरण स्थानीयबासीन्दाले आरोप लगाउदै आएका छन् ।
लामो समयसम्म खोला जन्य पदार्थको काम हुन नसक्दा निर्माण ब्याबसायी तथा निर्माण मजदुर मारमा परेको निर्माण ब्यबसायीले गुनासो गरेको छ । अनाधिकृत रुपमा खोलाबाट ल्याएको ढुंगा बालुवा समातिएमा चालक, कामगर्ने मजदुर र ट्याक्टरलाई कार्बाही गर्ने जिल्ला प्रहरी कार्यालयको उपरीक्षक गोबिन्द कुमार साहले बताउनु भयो । प्रहरीको टोली पुग्नु अगाबै चालकले ट्याँक्टरको चाबी लिएर फरार भएको जानकारी दिनु भयो । लिन आएको बेलामा सुचनाको आधारमा ट्याक्टर चालक सहितलाई कडा कार्बाही गरिने समेत उपरीक्षक साहले बताउनु भयो ।