काठमाण्डौ, ३ मंसिर ।
राप्रपामा लामो समय देखि देखिदै आएको विवाद अन्त्य भएको छ । पशुपति शमशेर राणाले लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष पद हस्तान्तरण गरेपछि विवाद अन्त्य भएको हो ।
पुर्वूप्रधानमन्त्री चन्द र अध्यक्ष राणाले आज संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएस‘गै विवादको अन्त्य भएको घोषणा गर्नुभएको हो । अध्यक्ष राणाले आज पत्रकार सम्मेलन गरी चन्दलाई नेतृत्व सुम्पिएको घोषणा गर्नुभएको हो ।
सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टीसँग एकिकरणताका महाधिवेशनसम्म चक्रिय प्रणालीका आधारमा अध्यक्षको जिम्मेवारी लिने सहमति भएपनि आफ्नो एक बर्षे कार्यकालपछि थापाले अध्यक्षको जिम्मेवारी राणालाई दिएको भन्दै चन्द र प्रकाशचन्द्र लोहनी सहितका नेताहरु रुष्ट बन्नु भएको थियो ।
पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगसम्म पुगेपछि आफु आधिकारिक भएको भन्दै अध्यक्ष राणा र बरिष्ठ नेता चन्दले राप्रपा भित्र समानान्तर कमिटि सञ्चालन गर्दै आउनु भएको थियो । चन्दले आफूलाई वैधानिक अध्यक्षको मान्यता दिन आग्रह गर्दै आयोगमा निवेदन दिनुभएको थियो भने आफुनै आधिकारिक अध्यक्ष भएको राणाको दावी थियो ।