काठमाडौ ३ मङ्सिर ।
गत वैशाख १२ को भूकम्पपछि विस्थापित भई आफ्नो थातथलामा फर्केका लाङ्टाङवासीको बासस्थान मिलाउने काम अगाडि बढेको छ ।
स्थानीय समाजसेवी छिरिङभिन्जो लोप्चनका अनुसार ओएम नेपालको सहयोगमा फिस्टेल एयरको हेलिकप्टरबाट बुधबारदेखि धुन्चेदेखि लाङ्टाङसम्म जस्ता ढुवानी सुरु गरिएको हो ।
हिमपातको समय अगावै लाङ्टाङ क्षेत्रका ११६ घरपरिवारलाई आवास निर्माण गर्न आफू अहोरात्र खटेको बताउँदै समाजसेवी लोप्चनले सबै दाताले लाङ्टाङको सहयोगार्थ केन्द्रित भइदिन सबै सरकारी एवम् गैरसरकारी संस्थालाई आग्रह गर्नुभयो ।
समुद्री सतहबाट छ हजार ५०० मिको उचाइको लिरुङ आधार शिविरको हिमताल फुट्दा लाङ्टाङ गाउँ पूरै पुरिई १७५ स्थानीयवासीलगायत सयौँ पर्यटक तथा पथप्रदर्शक बेपत्ता भएका थिए । विस्थापित सबै लाङ्टाङवासीलाई ओएम नेपालकै सहयोगमा हेलिकप्टरबाट आफ्नो थातथलोमा पु¥याइएको थियो