काठमाडौ २ मंसिर ।
मधेसी मोर्चाका कार्यकर्ताले गएराति महोत्तरीमा तीन वटा मोटरसाइकलमा आगजनी गरेका छन् । नेपाल–भारत सीमा क्षेत्र नजिक पर्ने गैंडा भेटपुरमा मोर्चाका कार्यकर्ताले तीन वटा मोटरसाइकलमा आगजनी गरेका हुन् ।
गाउँबाट टाढा एकान्त ठाउँमा तीन वटा मोटरसाइकल जलेको अवस्थामा फेला परे पनि मोटरसाइकल धनी र मोटरसाइकल नम्बर भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार प्रत्यक्षदर्शीले मोटरसाइकलमा आगजनी भएको जानकारी दिएपछि प्रहरी राति नै घटनास्थलमा पुगेको थियो । तर रातिको समय भएकाले कसैलाई पक्राउ गर्न नसकिएको का प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
भारतबाट पेट्रोलियम पदार्थ लिएर आउँदै गरेको मोटरसाइकलमा आगजनी भएको हुन सक्ने प्रहरीको अनुमान छ । भारतको नाकाबन्दी सुरु भएपछि गैंडाभेटपुर नजिकको सम्सी नाका हुँदै भारतीय बजारबाट मोटरसाइकल र साइकलमा पेट्रोलियम पदार्थ ल्याउने क्रम बढेको छ ।