काठमाडौ १ मंसिर ।
सूर्य उपासनाको पर्व छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ । कार्तिक कृष्ण चतुर्थीदेखि नै छठ सुरु भएको भएपनि पनि आज दिनलाई मुख्य रुपमा लिइन्छ ।
आज बेलुकी अस्ताउँदो सूर्य र भोली बिहान उदाउँदो सूर्यलाई दूध र जल सहितको अर्घ दिइ विशेष पूजा आरधना गरिन्छ । अस्ताएको सूर्यलाई पूजा गरेर रातभरि जाग्राम बस्ने र भोली बिहान उदाउने सूर्यलाई प्रसाद चढाउने चलन छ ।
केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व हाल आएर काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरमा पनि धुमधामका साथ मनाइन्छ । पर्वका अवसरमा तराईका नदी, पोखरीमा जस्तै काठमाडौंका जलाशयहरु पनि सिंगारिएको छ ।
काठमाडौंको थापाथली, गौरीघाट, रानीपोखरी लगायतका ठाउँमा पनि विशेष महत्वका साथ छठ मनाइन्छ । सूर्यको आरधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवम् चर्मरोग निको हुने जनविश्वास छ । छठका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।