काठमाडौ ३० कार्तिक ।
चाडपर्वको मौका छोपी पेट्रोलियम पदार्थको तस्करी गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको गौशालामा करिब ५०० लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिई नष्ट गरेका छन् ।
आज बिहान गौशाला नगरपालिका–११ स्थित रेडक्रस चौकमा साइकल तथा मोटरसाइकलमा ल्याइरहेको अवस्थामा सो परिमाणको पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।
मोर्चाका कार्यकर्ताले भारतीय सीमावर्ती कन्हवा बजारबाट बर्दिवासतर्फ बिक्रीका लागि लैजाँँदै गरेको अवस्थामा १०० लिटर पेट्रोल तथा ४०० लिटर डिजल नियन्त्रणमा लिएर आगो लगाई नष्ट गरेको तराई मधेस सद्भावना पार्टी महोत्तरीका जिल्ला अध्यक्ष नरेन्द्र यादवले बताउनु भयो ।
मोर्चाले केही दिनअगाडि चाडपर्वको अवसर पारेर किसानलाई खेतीपाती गर्नका लागि पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याउनका लागि छुट दिएकोमा तस्करहरूले कारोबार नै बनाएको भन्दै पेट्रोलियम पदार्थ नियन्त्रणमा लिइ सडकमै आगो लगाएर नष्ट गरेको अध्यक्ष यादवको भनाई छ ।