कार्तिक २८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणको भत्सर्ना गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आज फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलान्दलाई समवेदना सन्देश पठाएर आक्रमणमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि र समवेदना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले ओलीले यो आक्रमण फ्रान्सका नागरिकमाथि मात्र नभइ सम्पूर्ण लोकतान्त्रिक समाजमाथिको आक्रमण भएको सन्देशमा उल्लेख गर्नु भएको छ ।
उनले आतंकवादको यस्तो कायरतापूर्ण कदमले विश्वव्यापी मूल्यलाई पराजित गर्न गर्न नसक्ने र फ्रान्सका जनताको मनोबल कमजोर बनाउन नसक्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आततायी आक्रमणमा दोषी रहेकाहरुमाथि कानुनको कठघरामा ल्याइने विश्वास व्यक्त गर्दै आतंकवादी लडाइँमा नेपालको ऐक्यबद्धता रहने प्रष्ट पार्नुभएको छ । पेरिस हमलामा परी एक सय ४० भन्दा बढी नागरिकको मृत्यु भएको छ ।