काठमाडौ २५ कार्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथि लगाईएको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको भन्दै तत्काल हटाउन आग्रह गर्नुभएको छ ।
महासचिव मुनले भूपेरिवेष्ठित मुलुकका रुपमा नेपालले पाउनुपर्ने स्वतन्त्र पारवहन अधिकार हनन् भएको बताउनुभएको उहाका प्रवक्ता स्टेफन डुजारिकले बताउनुभयो ।
न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा आयोजित नियमित पत्रकार सममेलनमा प्रवक्ता डुजारिकले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको अवरोधका कारण महासचिव मुन चिन्तित बनेको बताउनुभएको हो ।
भारतको नाम नलिकन राष्ट्रसंघले पारवहनमा भइरहेको बाधाले नेपालमा भुकम्प पिडीतको सहयोगार्थ खटिएका मानवीय सहायता संस्थाहरुको काम प्रभावित भएकोप्रति चिन्ता व्यक्त गरेको छ ।
यसअघि राष्ट्रसंघले मानवीय सहायत कार्यक्रम प्रभावित भएको बारे चिन्ता व्यक्त गरे पनि पारवहन बारे आफ्नो धारणा राखेको यो पहिलो पटक हो ।