काठमाण्डौ ,२४ कार्तिक ।
खाना पकाउने एलपि ग्यासको अभावका कारण समस्यामा परेका सर्वसाधारणलाई सरकारले शुक्रवारदेखि उपत्यकामा सालका दाउरा बेच्ने भएको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएपछि सरकारले तिहारलाई लक्षित गरेर दाउरा बेच्ने भएको हो । प्रतिपरिवार १ सय केजीसम्म दाउरा दिने निर्णय भएको छ ।
वन मन्त्रालयले बुधबार तराई क्षेत्रबाट दाउरा ल्याएर काठमाडौंमा वितरण सुरु गर्ने निर्णय गर्दै टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) लाई काठमाण्डौमा दाउरा आपूर्ति गर्ने जिम्मेवारी दिएको छ ।
अब ३ सय चट्टा दाउरा काठमाडौं ल्याइने वन मन्त्रालयले जनाएको छ । सुरक्षा खतराका कारण कुन क्षेत्र र जिल्लाबाट काठ ल्याउने भन्ने मन्त्रालयले खुलाएको छैन ।
पहिलो चरणमा बिहीबार नै केही परिमाणमा दाउरा काठमाडौं भित्रिने र शुक्रबारदेखि नै दाउराको वितरण सुरु गर्ने तयारी भएको बताईएके छ ।
तर, विद्यालय तथा सुरक्षा निकायलाई भने दाउराको परिमाण बढाएर बिक्री गर्ने मन्त्रालयको तयारी छ । टिसिएनको बालकुमारी र पशुपति डिपोले दाउरा बिक्रीको जिम्मेवारी पाएका छन् ।
दाउरा काठमाडौं ल्याउन तिहारको विदाको समयमा पनि खट्न मन्त्रालयले कर्मचारीहरुलाई निर्देशन दिएको हो । ‘ग्यासको चरम अभाव भएर सर्वसाधरण ज्यार्दै प्रभावित भएपछि दाउरा काठमाडौं ल्याउन तयारी सुरु गरेको जनाईएको छ ।
देशभर ५ सय चट्टा दाउरा मौज्दात रहेकोमा मन्त्रालयले ३ सय चट्टा काठमाडौं ल्याउने निर्णय गरेको हो ।
कार्तिक १ गतेदेखि सबै वनमा काठ दाउराको कटानी खुलेकाले माग अनुरुपको दाउरा ल्याउन समस्या नहुने मन्त्रालयको दावी छ ।
अहिले सरकारी वनमा दाउराका रुपमा प्रयोग हुन सक्ने सुकेका, लडेका रुख तथा मुडा रहेकोले त्यसलाई समेटेर काठमाडौं लगायतका सहरमा र्पुयाउन योजना छ ।