काठमाडौँ, २२ कात्तिक ।
भूकम्पपीडित राष्ट्रिय मञ्चले पुनःनिर्माण प्राधिकरणको तत्काल गठन गरी यथाशक्य चाँडा काम सुरु गर्न माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मञ्चका संयोजक हस्त पण्डितले भूकम्प गएको सात महिनासम्म पनि कुनै नीति नआएकाले उपयुक्त पुनःनिर्माण नीति बनाई पीडितको सहभागितामा पुनःनिर्माण नीति छनोटको प्रावधान राख्न आग्रह गर्नुभयो ।
उहाँले पीडितलाई दुई प्रतिशत ब्याजदरमा उपलब्ध गराइने रकम रु २५ लाख कायम गरी समयावधि २० वर्ष पु¥याउनुपर्नेमा जोड दिँदै भूमिहीन, सुकुम्बासी तथा आफ्नो स्वामित्वमा जग्गा नभएकाका लागि घर बनाउनका लागि जग्गा उपलब्ध गराउन माग गर्नुभयो ।
पुनःनिर्माण कार्यमा सहयोग गर्न तत्पर विदेशी सङ्घसंस्थालाई सरकारी समन्वयमा काम गर्ने वातावरण सुनिश्चित गरी सामूहिक आवास निर्माणका लागि सार्वजनिक जग्गा तथा निजी जग्गाबीच सट्टापट्टाको व्यवस्था मिलाउन सरकारसँग मञ्चले आग्रह गरेको छ ।
भूकम्पपीडितको जीवनस्तर उठाउन विशेष आयआर्जनका कार्यक्रम र युवा स्वरोजगार कोषको कार्यक्रम केन्द्रित गरी लागू गर्नुपर्ने र सरकारी रोजगारीमा १० वर्षसम्म भूकम्पपीडितलाई प्राथमिकता दिनुपर्नेलगायत माग पनि गरिएको छ । रासस