काठमडौ २२ कार्तिक ।
चीनले अनुदानमा दिएको मध्ये एक तिहाई पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । १३ लाख लिटरमध्ये हालसम्म हालसम्म ४४ वटा ट्याङ्करले ४ लाख ७ हजार लिटर पेट्रोल केरुङबाट काठमाडौं ल्याएको आयल निगमले जनाएको छ ।
निगमका अनुसार चीनले अनुदानमा दिएको मध्ये अझै ९ लाख लिटर पेट्रोल ल्याउन बाँकी छ । चीनबाट ल्याइएको पेट्रोलबाट हालसम्म १ करोड १५ लाख रुपैयाँ राजश्व संकलन भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
यसैबीच चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन केरुङ पुगेका थप नेपाली ट्याङ्कर आज फर्किदैछन् । हिजो तिब्बतको केरुङ पुगेका २७ वटा ट्याङकर आज तेल भरेर फर्किने आयल निगमले जनाएको छ ।
केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी हिजो काठमाण्डु आएको र बाँकी ट्याङ्कर आज पेट्रोलियम पदार्थ भरेर आउने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
भारतीय नाकाबाट भने तेल आउने क्रम अवरुद्ध भएको छ । भारतले सीमानाकामा थप कडाई गरेपछि केहीदिन यता केही मालबाहक गाडी मात्रै नेपाल भित्रिएका छन् ।