काठमाडौ २२ कार्तिक । व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ ।
बिहान ११ बजेपछि संसद भवन नयाँबानेशवरमा बस्ने बैठकमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी विधेयक पेश गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।
असोज १५ गतेबाट सुरु भएको संसदको हिउदे अधिवेशन अन्र्तगत आज बस्ने बैठकमा लामो समयदेखि तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चा आवद्ध विभिन्न चार दल पनि सहभागी हुदैछन् ।
मोर्चाले आफूहरुले उठाएका माग सम्बोधनका लागि संसदलाई उपयोग गर्ने रणनिति लिएको हो । गत आइतबार सरकारलाई ११ बुँदे माग बुझाएको मोर्चाले ती माग पूरा गर्न लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन लागिएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
मोर्चाले मधेश आन्दोलनमा उठेका विषय सम्बोधन गर्न संसद बैठकमा अबरोध गर्ने रणनीति समेत बनाएका छन् ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेशका मुद्धा सम्बोधनका लागि संविधान संशोधन गर्न सरकारलाई दवाव दिने बताएको छ ।
तराई मधेशबाट प्रतिनिधित्व गरेका कांग्रेसका सभासदहरुले संविधान संशोधन प्रस्ताव अघि बढाउन संसद अवरुद्ध गर्नेसम्मको तयारी गरेका छन् ।
यसैगरी संसद बैठकमा पेश गर्ने एजेन्ड तयार गर्न आज बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक पनि बस्दैछ ।