काठमाडौं, २१ कात्तिक ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा डा. भट्टराइसहित अधिकारकर्मीहरुले तराई मधेसको समस्या छिटो समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।
डा. भट्टराई, दमनाथ ढुंगाना, पद्म रत्न तुलाधर, विद्याधर मल्लिक, स्टेला तामाङसहितको टोलीले बिहान प्रधानमन्त्री ओलीलाई भेटेर तराईमा चलिरहेको आन्दोलनले नागरिक मर्कामा परेको भन्दै छिटो समाधान खोज्न आग्रह गरेको हो ।
टोलीले संविधानसभाबाट संविधान जारी भएपनि मधेसी, जनजाति तथा सीमान्तकृत नागरिकका अधिकार सुनिश्चि नभएको भन्दै उनीहरुका माग सम्बोधन गर्न आग्रहसहितको ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको छ ।
यस्तै सीमा क्षेत्रमा भैरहेको अवारोध र भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन कष्टकर भएको र यसले दुई देशको सम्बन्धमा पनि नकारात्मक असर परेको भन्दै कुटनीतिक छलफलबाट समस्या समाधान गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ ।