घाँटी अँठ्याउने कस्तो मित्रता ? प्रधानमन्त्री ओली

घाँटी अँठ्याउने कस्तो मित्रता ? प्रधानमन्त्री ओली

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वतन्त्र, जिम्मेवार, निर्बाध, सुरक्षित र सम्मानित पत्रकारिताको पक्षमा रहेको बताउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा उहाँलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिन सिंहदरबार पुगेका नेपाल पत्रकार महासङ्घका पदाधिकारीलाई प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो–“स्वतन्त्रताको नाममा प्रेसलाई बाध्य पार्न थर्काउने, तर्साउने अनेकौँ प्रवृत्ति पनि रहेका छन् ती जेसुकै भएपनि देशको सार्वभौमसत्ता र स्वतन्त्रता होच्याउने, राष्ट्रिय हित र अखण्डतालाई अवमूल्यन गर्ने कुरा नेपाली जनता र प्रेसले हुन दिनु हँुदैन, प्रेस स्वतन्त्र र जिम्मेवार रहनुपर्छ ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो–“स्वतन्त्रता भनेको अराजक हुनु होइन, परिपक्वतातिर जानुपर्दछ, अहिले मुलुकलाई राष्ट्रिय एकता र राष्ट्रियताको भावना चाहिएको छ, मुलुक अप्ठेरोमा रहेको बेलामा देशप्रेम प्रकट हुनुपर्छ । ”

“नेपाली जनतामा अहिले असाधारण राष्ट्रवाद र देशप्रेम प्रकट भएको छ, विकल्पहीन अवस्थामा विकल्प खोजेर मुलुकसामु देखिएको सङ्कट समाधान गर्नुपर्ने अवस्था छ, महान् मित्रताको परिणाम नेपालले नाकाबन्दीको कारणबाट रु पाँच खर्बभन्दा बढी क्षति भोगिसकेको छ”, प्रधानमन्त्री ओलीले भन्नु भयो ।

जसजसले नयाँ संविधानका बारेमा प्रश्न उठाएका छन्, उनीहरुको संविधानभन्दा कुनै अर्थमा कँही पछाडि छ भने हामी बहस गर्न तयार रहेको चुनौती दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो–“तराईमा जुन समस्या छ, त्यसलाई सुल्झाउन संवाद गर्न तयार छौँ, शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान खोज्छाँै, संवाद जारी छ, वार्ताबाट समाधान खोज्ने हाम्रो नीति र प्रयास हो, हामी त्यसै बाटोबाटै अघि जान्छौँ ।”

नेपाली जनताको जनजीवनको ढाँचामा परिवर्तन ल्याउने गरी निकट भविष्यमै विद्युतीय सवारीसाधन र विद्युतीय हिटरको प्रयोगलाई प्रोत्साहन गरिने बताउँदै उहाँले इन्धनको अभावले मानवीय सङ्कटको स्थिति बनिरहेकाले अरू विकास र सुधारको पक्षमा धेरै ध्यान दिन नपाएको र नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“सरकार मुलुकको यो सङ्कटलाई समाधान गर्न सरकार गम्भीर र परिस्थितिप्रति चिन्तित छ, जनताले भोगिरहेको समस्या र दुःखप्रति अत्यन्तै संवेदनशील र दुःखित छ ।” “भूकम्पबाट नेपाल र नेपाली जनतालाई ठूलो क्षति, घाइते, मर्माहत बनाएको बेलामा पेट्रोलियम पदार्थ नदिने, निर्माणलाई असहयोग र अवरोध पुग्ने व्यवहार देखाउने, चुलो बल्न नपाउने जस्ता काम छिमेकीबाटै भएको छ”, प्रधानमन्त्री ओलीले भन्नु भयो ।

मित्रलाई दुःख परेको र घाइते भएको बेला खान नदिएर घाँटी अँठ्याउने खाले आश्चर्यजनक मित्रताको परिभाषा अहिले खोज्नु परेको बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो– “अत्यन्तै लोकतान्त्रिक संस्थाबाट, लोकतान्त्रिक प्रक्रिया पूरा गरेर, प्रत्येक दफा र धारामा छलफल गरेर दुई तिहाइले पास गरेर संविधान बनाएको हो, यो संविधान हामी आफूले, आफ्ना निम्ति, बनाएका हाँै, कसैका विरुद्ध नभएकाले अरूले आपत्ति गर्नुपर्ने स्थिति थिएन ।”

सो अवसरमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले देशको परिस्थिति, नाकाबन्दीले देश, जनता र सञ्चारमाध्यमले भोग्नु परेको समस्या र गर्नुपर्ने कामका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी