काठमाडौं, १९ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार गर्नुभएको छ । विस्तारित मन्त्रिमण्डलमा उपप्रधानमन्त्री मात्रै ६ जना भएका छन् ।
एमालेबाट ५, माले र जनमोर्चाबाट एक एक मन्त्री आज थपिएका हुन । माले अध्यक्ष सीपी मैनालीलाई उपप्रधानसहित महिला, बालबालिका तथा समाकल्याण र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानसहित गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
एमाले उपाध्यक्ष भीम रावललाई उपप्रधानसहित सहरी विकास, उपमहासचिव विष्णु पौडेललाई अर्थ, केन्द्रीय सदस्य शेरधन राईलाई सूचना तथा प्रविधि नेता आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि बिना विभागीय मन्त्रीको सपथ लिइसक्नुभएका सत्यनारायण मण्डलाई युवा तथा खेलकुद, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बिना विभागीय मन्त्रालयमा सपथ लिएका विश्वेन्द्र पासवानलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैबीच नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मन्त्री पद अस्वीकार गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गरिएको शहरी विकास मन्त्री बनाउने निर्णय नेतृ शाक्यले अस्वीकार गर्नुभएको हो ।
नेतृ शाक्यले यसअघिबाटै मापदण्ड तयार गरेर क्षमता भएका, नयाँ अनुहार र सरकारमा प्रभावकारी उपस्थिति जनाउन सक्ने व्यक्तिलाई मन्त्री बनाइनुपर्ने आग्रहलाई अध्यक्ष ओलीले नसुनेपछि मन्त्री बन्न अस्वीकार गर्नुभएको बताईएको छ ।