काठमाडौं १९ कार्तिक ।
चीनले नेपालसँगको थप सात वटा नाकाबाट ब्यापारिक कारोबार सुरु गर्ने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सातवटा नाका भन्सार स्थापना गर्न सहमति भएको हो ।
चीनका लागि नेपाल भ्रमणमा रहनु भएका ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोई र नेपालका भन्सार विभागका उप(महानिर्देशक एवः संयोजक दामोदर रेग्मीबीच अन्य ७ वटा नाकालाई व्यपारिक रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको दुई देशीय वार्तामा संखुवासभाको किमाथाङका, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारिङ, दोलखाको लामाबगर र मुगु नाकाबाट भन्सार नै स्थापना गरेर व्यापारिक आयात निर्यात सुरु गर्ने सहमति भएको भन्सार विभाग स्रोतले जनाएको छ ।
आज साँझ ५ बजे काठमाडौंकोमा एक कार्यक्रमकाबीच यस सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनेछ । चीनियाँ टोलीसंग भुमम्पछि बन्द रहेको तातोपानी नकालाई छिट्टै पुरानै अवस्थामा ल्याएर सञ्चालन गर्ने सहमति पनि भएको छ ।
बैठकमा चीनसँगको व्यापारिक नाका तथा मार्गहरुलाई सहज बनाउने विषयमा सहमति भएको भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले जानकारी दिनुभयो ।
यसैगरी चीनले विभिन्न वस्तुमा दिएको शुन्य भन्सार सुविधा कार्यान्वयन लगायतका विषयमा आजै औपचारिक सहमति हुँदैछ ।