ताराखोला जलविद्युत्को सेयर सङ्कलन सुरु

ताराखोला जलविद्युत्को सेयर सङ्कलन सुरु

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,१८ कात्तिक ।

आर्थिक अभावका कारण अलपत्र ताराखोला सामुदायिक जलविद्युत् आयोजनालाई पूर्णता दिन सेयर सङ्कलन अभियान सुरु गरिएको छ । गल्कोट क्षेत्रका हिल, तारा र अर्गल गाविसका दुई हजार २०० घरधुरीलाई लक्षित गरी सुरु गरिएको आयोजना आर्थिक अभावका कारण केही महिनायता अवरुद्ध बनेको थियो ।

आयोजनालाई पूर्णता दिन तीन गाविसबाट रु नौ करोडको सेयर सङ्कलन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । विसं २०६९ वैशाखदेखि निर्माण सुरु गरिएको ३९४ किलोवाट क्षमताको ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको करिब ६० प्रतिशत कार्य सम्पन्न गरिएपछि अलपत्र परेको थियो ।

रु १७ करोडको लागतमा सुरु गरिएको आयोजना तारा गाविस–८ घप्लेङ मुहानदेखि पानी लगेर सोही वडाको धस्मरमा विद्युत् गृह निर्माण गरिने योजना रहेको सो आयोजनाको निर्माणका लागि स्थानीयवासीको रु दुई करोड ३२ लाख सेयर, नेपाल सरकारअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ६ करोड २३ लाख अनुदान र जिल्लाकै पहाडी हाइड्रोपावर कम्पनीको रु एक करोड लगानी रहेको छ ।

विसं २०६९ वैशाखदेखि निर्माण सुरु गरिएको ३९४ किलोवाट क्षमताका उक्त आयोजना सम्पन्न गर्न रु १७ करोड लागत लाग्ने अनुमान गरिएको छ । जसमध्ये रु ६ करोड २८ लाख वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत नेपाल सरकारको अनुदान, रु दुई करोड ३२ लाख स्थानीय उपभोक्ताबाट यसअघि नै सेयर सङ्कलन गरिसकेको उपभोक्ता समितिका सचिव कुलबहादुर रोकाले बताउनुभयो । अझै रु नौ करोड रकम नपुग रहेको छ ।

स्थानीयबाट सङ्कलित दुई करोड ३२ लाख, पहाडी हाइड्रोपावर कम्पनीका सञ्चालक बलबहादुर केसीको रु एक करोड सेयर लगानी र रु ८० लाख समितिले लिएको ऋण गरी जम्मा करिब रु चार करोडको लगानीमा कलो, फोर वेय, मुहानलगायत सिभिल निर्माणका काम सम्पन्न भइसकेको छ । नपुग लगानी हिमालयन बैंकमार्फत ऋण लिएर जुटाउने गरी बैंकले सहमति दिएपछि १८ महिनामा काम सक्नेगरी रु १० करोडमा चुरे जेवी कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो ।

हिमालयन बैंकले अन्तिम समयमा आएर ऋण फिर्ता गर्ने ग्यारेन्टी नभएको भन्दै लगानी गर्न अस्वीकार गरेपछि काम अघि बढ्न नसकेको सचिव रोकाले जानकारी दिनुभयो । पछिल्लो समयमा समितिले तारा गाविसबाट रु चार करोड, हिल गाविसबाट रु तीन करोड र अर्गल गाविसबाट रु दुई करोड सेयर सङ्कलन गरेर लगानी जुटाई आयोजना सम्पन्न गर्ने निर्णय गरेको थियो ।

तीनवटा गाविस परेको कोटा त्यहाँका जनताबाट सेयर लगानी गर्ने पहिलो विकल्प, सबैले बराबर लगानी गर्न नसकेमा गाविसभित्रका सक्नेहरुबाट सङ्कलन गर्ने र विकल्पमा बाहिरबाट रकम जुटाई जुनसुकै हालतमा आयोजना सम्पन्न गर्ने परियोजनाका अध्यक्ष तीर्थसिंह थापाले बताउनुभयो । प्रत्येक उपभोक्ताबाट बराबर लगानी जुटाउनका लागि एक उपभोक्ताले ६० देखि ७० हजार थप लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।

आयोजना सम्पन्न भएपछि घरायसी प्रयोजनमा हुने खपत, ढुङ्गा खानी, मिल, फर्निचर, स्थानीय साना उद्योग सञ्चालनलगायतमा विद्युत् खपत गरी ६ वर्षमा लगानी उठ्ने आयोजनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी