काठमाडौं, १७ कार्तिक ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नाकाबन्दीको नाउँमा गरिएको कालोबजारी र भ्रष्टचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादीले तिहारपछि भारतीय अघोषित नाकाबन्दीविरुद्ध राष्टिय मुक्ति आन्दोलनसमेत गर्ने जनाएको छ।
महासचिव नेत्रविक्रम चन्द (विप्लव)द्धारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतले लगाएको नाकाबन्दीका कारण आपूर्तिमा देखापरेको अभावको नाजायज फाइदा उठाई केही कालाबजारीयाहरुले पेट्रोलियम पदार्थको मूल्य कैयौं गुणा बढाएर बेचिरहेका छन् । उपभोग्य बस्तुको मूल्य, यातायात र ढुवानीको भाडा आकासिएको छ।
भूकम्पपीडितले अहिलेसम्म राहत पाएका छैनन् । भूकम्पपीडितका नाममा यहाँ भ्रष्टाचार भइरहेको छ, ‘भ्रष्टाचारविरुद्ध पनि सशक्त कारबाही अगाडि बढाउँछौं ।’
यस्तै भारतले संविधान, सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुण्ठित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालको राष्ट्रिय स्वाधीनतामा खलल पु¥याउने काम गरिरहेको भन्दै देशभक्त शक्तिलाई प्रतिरोध गर्न समेत नेकपा माओवादीले सबैमा आग्रह गरेको छ ।
‘अहिले भारतले लगाएको नाकाबन्दीबाट पैदा भएको यो संकटपूर्ण घडीको मोचनको कुनै विकल्प पनि खोजेको छैन। विकल्प खोजे पनि झारा टार्ने काम मात्र गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जटिल अवस्थाबारे देश र जनतालाई जानकारी, सचेत गराएको छैन।’
भारतीय शासक वर्गको यो रवैयाप्रति भत्र्सना गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय कानुन मिचाईप्रति सरकारले कुनै प्रतिक्रिया नजनाएकोमा नेकपा माओवादीले आश्चर्य प्रकट गरेको छ ।
