काठमाडौ १७ कार्तिक ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज पनि बस्दैछ । केही दिनयता जारी बैठकमा आज पनि पछिल्लो राजनितिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । आइतबारबाट राजधानीमा जारी बैठकमा प्रधानमन्त्री निर्वाचनमा सभापति सुशिल कोइरालाले उमेदवारी दिएपछिको अवस्थाका विषयमा छलफल भइरहेको छ ।
पार्टी नेतृत्वको अदुरदर्शीताका कारण पार्टीले राज्यका प्रमुख पद गुमाउनु परेको भन्दै बैठकमा केन्द्रिय सदस्यहरुले शिर्ष नेतृत्वको चर्को अलोचना गर्दै आएका छन् । बिहान ११ बजेपछि सानेपा स्थित पार्टी केन्द्रिय कार्यलयमा बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशन र तराई मधेशमा जारी आन्दोलनका विषयमा पनि छलफल हुने बताइएको छ ।
यसअघि हिजोको बैठकमा प्रधानमन्त्री निर्वाचनमा उमेदवारी दिएको विषयमा तीन शिर्ष नेताबीच आरोप प्रत्यारोप चलेको थियो ।
संसदको सबै भन्दा ठुलो दल भएपनि प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति जस्ता महत्वपूर्ण पद गुमाउनु परेको कारण बारे सदस्यहरुले शिर्ष नेताहरुको धारणा माग गरेपछि पार्टी सभापति सुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप चलेको हो ।
आजको बैठकमा पनि केन्द्रिय सदस्यहरुले पछिल्लो राजनितिक अवस्थाका बारेमा पार्टीले बेहोर्नु परेको क्षतिको विषयमा नेतृत्वको आलोचना गर्ने तयारी गरेका छन् ।