नाकाबन्दीलाई अवसरका रुपमा बदल्नुपर्छ : गभर्नर नेपाल

नाकाबन्दीलाई अवसरका रुपमा बदल्नुपर्छ : गभर्नर नेपाल

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

(पर्वत), १६ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई मुलुक निर्माणको अवसरका रुपमा बदल्न आग्रह गर्नुभएको छ ।

पर्वतको कुस्माबजारमा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको आइतबार उद्घाटन गर्दै गभर्नर नेपालले नाकाबन्दीबाट पाठ सिकेर मुलुक निर्माणमा सबै लाग्न आग्रह गर्नुभयो ।

नेपालले नाकाबन्दीको कष्ट सहेर पनि मुलुकको दीर्घकालीन हित हुने काम र योजना अहिलेदेखि बनाउन आवश्यक भएको बताउनुभयो । “नाकाबन्दीलाई देश बनाउने अवसरका रुपमा बदल्न आवश्यक छ”, उहाँले भन्नुभयो, “खाडी र मलेसियालाई समृद्ध बनाउने नेपाली हातले यसलाई अवसरका रुपमा लिएर नेपाललाई समृद्ध बनाउन आवश्यक छ । हाम्रो देश हामीले बनाउने हो अरूले बनाइदिँदैन ।”

मुलुकमा ऊर्जा सङ्कट समाधानका लागि जलविद्युत्को लगानी बढाउने र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगको विस्तार र प्रवद्र्धनका लागि ढिलो गर्न नहुने धारणा उहाँको छ । “कृषि उत्पादन र ऊर्जा उत्पादनमा राज्यले ध्यान दिए नाकाबन्दी सजिलै पार लगाउन सकिन्छ” नेपालले भन्नुभयो ।

“अब हामी स्वावलम्बी हुने कि परनिर्भर हुने भन्ने कुराको छिनोफानो आजै गर्नुपर्छ”, उहाँले नेपालले भन्नुभयो, “कहिले दक्षिण र कहिले उत्तरको भर पर्ने हो भने सधैँ यस्ता समस्या आइरहन्छन् ।”

विश्वका अन्य भूपरिवेष्टित राष्ट्रले समस्या आउन सक्ने देखेर आफूलाई हरेक हिसाबले मजबुद बनाएका छन् भन्दै उहाँले नेपालले त्यसतर्फ ध्यान दिन आवश्यक भएकामा जोड दिनुभयो । नाकाबन्दीका कारण अहिलेसम्म मुलुकको कुल सञ्चिती र बचतमा कुनै असर नदेखिएको बताउँदै उहाँले अब त्यसको असर देखिन थाल्ने जानकारी पनि दिनुभयो ।

कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक समिति सदस्य तथा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेपालको हिमाली र पिछडिएको क्षेत्रमा सेवा दिने उद्देश्यले वित्तीय संस्था स्थापना गरिएको जानकारी दिँदै नेपालको सबै क्षेत्रमा १० वर्षभित्रमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकबाट १० जिल्लामा कारोबार गर्ने स्वीकृत प्राप्त गरेको जनसेवी लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी रु २० करोड रहेको छ । रु तीन करोड ५० लाख जारी पुँजी रहेको छ । यस्तै, रु दुई करोड २५ लाख चुक्ता पुँजी रहेको बैंकका कार्यकारी अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी