काठमाडौं, १६ कार्तिक ।
आन्दोलनकारीले वीरगंजको रक्सौल नाका पुनः नियन्त्रणमा लिएका छन् ।
बन्द भएको ४० दिनपछि प्रहरीले नाका आज बिहान खोलेपनि आन्दोलनरत तराई मधेस केन्द्रीत दलका कार्यकर्ताले नाका पुनः नियन्त्रणमा लिएका हुन् ।
अहिले नाकामा आन्दोलनकारीहरुले जुलुस गरिरहेका छन् भने टायर बालेर प्रर्दशन पनि गरिरहेका छन् ।
भारतीय सीमा क्षेत्रबाट आन्दोलनकारीले ढुंगा प्रहार गरिरहेको पर्साका एसपी राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड गोली चलाएको छ ।
नाकामा अहिले नेपाल पटी प्रहरी र भारततर्फ तीन चारसय आन्दोलनकारी रहेका छन् ।
यसअघि ४० दिनयता दशगजा क्षेत्रमा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई बिहान करिब ५ बजेतिर नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी हटाएको थियोे ।
नाकामा अवरोध हटाए लगत्तै भारतीय सीमा सुरक्षा बल एसएसवी समेतको सहयोगमा नेपाली सीमा क्षेत्रमा रोकिएर रहेका करिब २०० भारतीय सवारीमध्ये कहिलाई सीमापार गराएको स्थानिय प्रशासनले जनाएको छ ।
सुरक्षाकर्मीको बल प्रयोगका क्रममा आन्दोलनकारीले प्रतिकारको प्रयास गरेका थिए ।
यसैबिच, तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले बर्तमान सरकारले पनि आन्दोलनकारीलाइ दमन गर्ने संकेत देखाएको भन्दै यसले जारी वार्ता प्रक्रियालाइ असर पार्न सक्ने बताउनुभएको छ ।
उहाले विगरन्ज नाकामा आज भएको बल प्रयोगले तराइ मधेसका जिल्लामा पुन हिशां बढन सक्ने समेत बताउनुभयो ।
यता धर्नास्थलमा सुतिरहेका प्रदर्शनकारीहरुलाई बल प्रयोग गरि हटाएर रक्सौल नाका सुचारु गरेको विरोधमा वीरगन्जमा अहिले जताततै प्रदर्शन सुरु भएको छ ।
आन्दोलनकारीहरुले भन्सार तर्फ जाने सबै चोकहरुमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् ।
प्रहरीले पुन नाकामा प्रदर्शनकारी जम्मा नहुन भनेर वीरगन्जको रजत जयन्ती चोकबाट नै मानिसहरुलाई नाका तर्फ आउन दिएको छैन।
भारत तर्फ जाने यात्रु भएको खुलेपछि परिचयपत्र हेरेर मात्रै प्रहरीले सर्वसाधारणलाई नाका तर्फ जान दिएको त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।