काठमाडौं, १४ कार्तिक ।
मुलुक दोस्रो उपराष्ट्रपतिका लागि आज संसदमा मतदान हुदैछ ।
संसद सचिवालयका अनुसार उपराष्ट्रपति चयनका लागि आज बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म संसदमा गोप्य रुपमा मतदान हुनेछ ।
नयाँ उपराष्ट्रपति पदका लागि एकीकृत नेकपा माओवादीका नेता नन्दकिशोर पुन र नेपाली कँग्रेसका नेता अमियकुमार यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।
सत्तारुढ गठबन्धनका तर्फबाट उमेद्वारी दिएका एकीकृत माओवादी नेता पुनको प्रस्तावकमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राप्रपा नेपालका दीलनाथ गिरी हुनुहुन्छ । अहिलेको समीकरण अनुसार पुन निर्वाचित हुने लगभग निश्चित जस्तै देखिएको छ ।
यादवको प्रस्तावकमा भने कंग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा कंग्रेसका सचेतक इश्वरी न्यौपाने हुनुहुन्छ । उपराष्ट्रपतिमा निर्वाचित हुन संसदमा हाल कायम ५ सय ९७ मध्ये २ सय ९९ मत आवश्यक पर्छ
मतदान सकिएपछि दिउँसो आज दिउँसो साँढे २ बजेदेखि मत गणना हुनेछ । बेलुकी पौने ५ बजे निर्वाचन समितिले मत गणनाको परिणाम सभामुखलाईे हस्तान्तरण गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ उपराष्ट्रपतिको मत परिणाम सार्वजनिक गर्नुहुने कार्यतालिका छ ।