कात्तिक १३, काठमाडौं ।
नयाँ उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत माओवादीका नेता नन्दकिशोर पून, कंग्रेसका अमियकुमार यादव, नेपाल परिवार दलका दयाराम कडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानको उम्मेदवारी परेको हो ।
पूनको प्रस्तावकमा एमालेका झलनाथ खनाल र राप्रपा नेपालका दीलनाथ गिरी हुनुहुन्छ । यादवको प्रस्तावकमा चीनकाजी श्रेष्ठ र समर्थकमा इश्वरी न्यौपाने, कडेलको प्रस्तावकमा एकनाथ ढकाल र समर्थकमा मिलनकुमारी राजवंशी हुनुहुन्छ ।
स्वतन्त्र सांसद मुसलमानको प्रस्तावकमा कुमार थापा र समर्थकमा लोकमणि ढकाल हुनुहुन्छ । उपराष्ट्रपतिका लागि भोली बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा मतदान हुनेछ ।
भोली बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा उपराष्ट्रपति निर्वाचनको परिणाम घोषणा हुनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ ।