काठमाडौ १३ कार्तिक ।
व्यवस्थापिका संसदमा आजबाट उपराष्टपति चयन प्रक्रिया सुरु हुदैछ । राष्ट्रपति चयन प्रक्रिया सकिए लगत्तै आजबाट मुलुकको दोस्रो उपराष्ट्रपति चयनका लागि प्रक्रिया सुरु हुन लागेको हो ।
आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारी दर्ता गराउने कार्यतालिका रहेको छ । उहाँहरु उम्मेदवार हुने कुराको घोषणा सम्बद्ध राजनीतिक दलले यसअघि नै गरिसकेका छन् ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार दिउँसो साँढे एक बजे दर्ता भएको उमेदवारको नामावली प्रकाशन गरिने छ ।
दिउासो साँढे दुई बजेसम्म दावी विरोध र उमेदवारी फिर्ताका लागि समय दिई अपरान्न ३ बजे उमेदवारको अन्तिम नामावली सार्वजनिक गरिने सचिवालयका सहयक प्रवक्त सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
अहिलेसम्म उपराष्ट्रपति पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुन र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादवले उमेदवारी दिने तय भएको छ ।
भोली बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा गोप्य मतदानबाट उपराष्ट्रपति चयन गरिनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ ।