काठमाडौँ, १२ कात्तिक ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिले तराई मधेसमा आन्दोलनरत समूह र दलसँग सार्थक वार्ता गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकमा आन्दोलनरत मधेसी मोर्चाले वार्ताको क्रममा राखेको पूर्व सर्तलाई पूरा गरेर समस्याको समाधान गर्ने विषयमा छलफल भएको थियो ।
समितिले सरकारी वार्ता टोलीलाई वार्ताको क्रममा पूर्वसर्त पूरा गरेर अगाडि बढ्ने गरी सहमतिको वातावरण तयार पार्न समेत आग्रह गरेको छ । समितिका सदस्य एवम् नेकपा मालेका महासचिव चन्द्रप्रकाश मैनालीले राजनीतिक समस्यालाई राजनीतिक तवरबाट नै समाधान गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको जानकारी दिनुभयो ।
आन्दोलनरत पक्षसँग वार्ता र संवादलाई निरन्तरता दिने र इन्धनलगायत आयातमा देखिएको समस्या समाधान गर्न विशेष पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।
भारतले अघोषित रुपमा नाकाबन्दी कायम राखेपछि इन्धनलगायत अत्यावश्यकीय वस्तुको आयात रोकिएको र जनजीवन प्रभावित भएकाले त्यसलाई सकेसम्म चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।