काठमाडौँ, ११ कात्तिक ।
भारतको अघोषित नाकाबन्दीका कारण देशको व्यापार÷व्यवसाय संकटमा परेको छ । सामान ढुवानीमा समस्या भएपछि ठूला उद्योगधन्दादेखि साना व्यापार÷व्यवसाय प्राय ठप्प भएका छन ।
धरहरा नजिकै तयारी कपडा पसल सञ्चालन गर्दै आउनुभएका धरानका दीपक सुवेदीले महाबौद्धबाट ल्याउने कपडा रिक्साको सहायता र आफैँले बोकेर ल्याएको बताउनुभयो । तर अन्य मुलुकबाट आयात हुने सामग्री रोकिँदा समस्या चर्किदै गएको छ ।
रत्नपार्क नजिकै नाङ्ले (फुटपाथ) पसल सञ्चालन गर्दै आउनु भएकी दोलखाकी शान्ता लामाले ठूलो पसलमा चाउचाउ, दालमोट, चुरोट, बिस्कुटसमेत नपाएपछि आपूmले गर्दै आएको सानो व्यापार नै धरापमा परेको गुनासो गर्नुभयो ।
नाकाबन्दीका कारण किराना पसलमा नून, खाने तेल, चामल र दाललगायत दैनिक उपभोग्य वस्तुको समेत अभाव भएको सर्वसाधारणको भनाइ छ । ग्यास र अन्य सामानको अभावका कारण काठमाडौँ उपत्यकामा होटल बन्द हुने क्रम बढ्दै गएको छ । अस्पतालमा औँषधिको अभाव भएको छ ।
रामेछाप घर भई हाल कोटेश्वर बस्ने ट्याक्सी चालक सुरेश थापाले डिजेलका लागि भद्रकाली पेट्रोल पम्पमा लाइन बस्न थालेको पाँच दिन भयो । भारतले कुन बेला तेल देला भनेर बस्नेभन्दा पनि चीनबाट वा अन्य मुलुकबाट ल्याएर भएपनि तत्काल समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।
बाहिरको मिसावट तेल प्रयोग गर्दा गाडीको स्टाट नै बन्द हुने र इन्जिनले समेत काम नगर्ने भएकोले पनि बरू हप्ता दिन भएपनि लाइन बसेर तेल हाल्ने गरेको थापाले बताउनुभयो ।
नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले बजारमा चर्को समस्या भएको तर राज्यले माथिल्लो तहबाट समस्याको समाधान नखोज्दासम्म इन्धन सहज नहुने बताउनुभयो ।
विभिन्न तहमा इन्धन सहज आपूर्तिका लागि प्रयास भएपनि त्यसको ठोस परिणाम नदेखिएको उहाँको भनाइ छ । सरकारले भारतको अघोषित नाकाबन्दीका कारण इन्धन सङ्कट भएपछि वैकल्पिक उपायका लागि प्रयास जारी राखेको छ ।
त्यसका लागि एक प्रतिनिधिमण्डल चीनबाट इन्धन आयात गर्ने विषयमा छलफलमा जुटेको छ तर आपूर्तिका लागि कहिले कति समय लाग्ने भन्ने अझै अनिश्चित नै छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले सरकारी तहबाट इन्धन आपूर्तिका लागि प्रयास जारी भएपनि तत्काल नै समस्या समाधान हुने विश्वस्त आधार नभएको बताउनुभयो ।