काठमाडौँ, ११ कात्तिक ।
नेपाल पत्रकार महासङ्घले आन्दोलनरत संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाबाहेक अन्यको विज्ञापन, शुभकामनालागयत सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकामा आपत्ति जनाएको छ ।
मोर्चाले हिजो एक विज्ञप्ति प्रकाशित गरी सो बन्देज लगाएको थियो । महासङ्घका महासचिव उजिर मगरद्वारा आज यहाँ जारी विज्ञप्तिमा कुनै पनि बहानामा सञ्चारमाध्यममाथि यस किसिमले बन्देज लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ ।
बारामा सञ्चारमाध्यममाथि लगाइएको बन्देज तत्काल हटाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोगको वातावरण निर्माण गर्न सरकार र आन्दोलनरत पक्षलाई महासङ्घले विज्ञप्तिमार्फत आह्वानसमेत गरेको छ ।
साथै, महासङ्घले मधेसमा जारी आन्दोलनको संवादका माध्यमबाट छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउन सरकार र आन्दोलनकारी पक्षलाई पुनः आह्वान गरेको छ ।