काठमाडौ,११ कात्तिक।
ब्यबस्थापिका संसदमा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न भएको छ । संसदमा कायम ५ सय ९७ मध्ये ५ सय ४९ जनाले मतदान गरेको संसद सचिवालयले जनाएको छ ।
जसमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध सद्भावना पार्टीकी माधवी रानी साहले समेत मतदान गर्नुभएको छ । मोर्चा आवद्ध अन्य ३५, तराई मधेश सद्भावना पार्टीका ३ तथा फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीका १–१ जना भने मतदानमा अनुपस्थित रहेका थिए ।
सभामुख ओनसरी घर्ती मगर र बिभिन्न दलका ७ जना भने मतदान प्रक्रियामा सहभागी नभएको सचिवालयका सहायक प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो । संसदमा कायम ५ सय ९७ मध्ये २ सय ९९ मत प्राप्त गर्ने उमेद्वार विजयी हुनेछन ।
अहिले केहीबेरमा मत गणना सुरु हुदैछ । अपरान्ह्र ४ बजेर ४५ मिनेटमा मतपरिणाम तयार पारि निर्वाचन अधिकृतले सभामुख ओनसरी घर्ती मगर समक्ष बुझाउने कार्यक्रम छ । ५ बजे बस्ने संसद बैंठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति निर्वाचनको परिणाम पेश गर्नुहुनेछ ।
संसद सचिवालयको लोत्से हलमा गोप्य मतदान भएको हो ।भावी राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट कुलबहादुर गुरुङबीच प्रतिस्पर्धा छ।
निर्वाचनमा ३ ओटा मत पेटिका राखिएका थिए । उपाध्यक्ष भण्डारीलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा लगायत दलको समर्थन छ । गुरुङलाई कांग्रेस बाहेक हालसम्म अन्य दलको समर्थन प्राप्त भएको छैन ।
बर्तमान समिकरणमा आकस्मिक फेरबदल नभए देशको पहिलो महिला राष्ट्रपतिमा भण्डारी निर्वाचित हुने निश्चित देखिएको छ । यसैबीच आज हुने भनिएको उपराष्ट्रपतिको चुनाव भने कार्तिक १४ गतेका लागि सरेको छ ।