काठमाडौ ११ कार्तिक ।
गणतन्त्र नेपालको दोस्रो रागट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद सचिवालयको लोत्से हलमा गोप्य मतदान सुरु भएको हो ।
भावी राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट कुलबहादुर गुरुङबीच प्रतिस्पर्धामा हुनुहुन्छ ।
उपाध्यक्ष भण्डारीलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा लगायत दलको समर्थन छ ।
गुरुङलाई कांग्रेस बाहेक हालसम्म अन्य दलको समर्थन प्राप्त भएको छैन । त्यसकारण समिकरणमा आकस्मिक फेरबदल नभए देशको पहिलो महिला राष्ट्रपतिमा भण्डारी निर्वाचित हुने निश्चित देखिएको छ ।
राष्ट्रपति पदमा निर्वाचित हुन संसदमा हाल कायम ५ सय ९७ सिट मध्ये २ सय ९९ मत आवश्यक पर्छ । सबै सत्तारुढ दलले भण्डारीको पक्षमा मतदान गर्न आआफ्ना सांसदलाई निर्देशन दिइसकेका छन् ।
मतदान सकिएपछि दिउँसो आज दिउँसो साँढे २ बजेदेखि मत गणना हुनेछ । बेलुकी पौने ५ बजे निर्वाचन समितिले मत गणनाको परिणाम सभामुखलाईे हस्तान्तरण गर्ने कार्यसुची रहेको संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुइाकेलले जानकारी दिनुभयो ।
बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मत परिणाम सार्वजनिक गर्नुहुने कार्यतालिका छ ।