कात्तिक १०, काठमाडौं ।
भावी राष्ट्रपतीका लागि सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका उमेद्वारबीच प्रतिस्पर्धा हुने भएको हो ।
संसद सचिवालयले उम्मेद्वार मनोनयनका लागि दिएको समयमा एमाले नेतृ बिद्या भण्डारी, कंग्रेस नेता कूलबहादुर गुरुङ्ग र नेमकिपाका नारायण महर्जनले उमेद्वारी दिनु भएको थियो ।
तर मनोनयन फिर्ता लिने अन्तिम समयमा नेमकिपाका महर्जनले आफ्नो उमेद्वारी फिर्ता लिएपछि राष्ट्रपतिको चुनावी दौडमा भण्डारी र गुरुङ्गबीच मात्र प्रतिस्पर्धा हुने भएको हो ।
प्रमुख सत्तारुढ दल एमाले उपाध्यक्ष भण्डारीको प्रस्तावकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित सत्ता समर्थित अधिकांश दलका अध्यक्षहरु समर्थक हुनुहुन्छ ।
उम्मेद्वारी दर्तापछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेतृ भण्डारीले संक्रमणकालिन अवस्थामा सबै दल मिलेर जानुको विकल्प नभएको भन्दै संसदमा रहेका दलहरुले आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आफ्नो उम्मेद्वारीले मुलुकको राष्ट्रिय एकतालाई मजबुद बनाउनुका साथै लोकतन्त्रलाई सुदृढ बनाउने उहाँको भनाई छ । नेपाललाई गणतन्त्र घोषणा गर्दा सभामुख रहनु भएका कंग्रेस पूर्वमहामन्त्री गुरुङको उम्मेद्वारीमा महामन्त्री प्रकाशमान सिंह प्रस्तावक र अर्का महामन्त्री कृष्णप्रसाद सिटौला समर्थक हुनुहुन्छ ।
उम्मेद्वारी पछि पत्रकारहरुसंग कुरा गर्दै नेता गुरुङले सबैले आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रजातान्त्रिक प्रकृयाको अभ्यासका लागि आफूले उम्मेदवारी दिएको र दलहरुबीच सहमतिको प्रयत्न जारी रहेकाले आफ्नो उम्मेद्वारी कायम हुने उहाँको भनाई छ ।
कंग्रेस उमेद्वार गुरुङ्गलाई हालसम्म कुनै पनि दलले समर्थनको घोषणा गरेका छैनन् । राष्ट्रपतिको निर्वाचन गोप्य मतदानबाट हुने छ । निर्वाचनको समय भोली बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म निर्धारण गरिएको छ ।