काठमाडौं, १० कार्तिक ।
सरकारमा सहभागी एमाओवादीका मन्त्रीहरुले आफ्ना नातेदारलाई स्वकीय र निजी सचिवमा भर्ती गर्न नपाउने भएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन गरी २३ बुँदे आचार संहिता जारी गर्दै एमाओवादीले नातेदारलाई मन्त्रीको पीए बनाउन नपाउने निर्णय गरेको हो ।
यसअघि सरकारमा सामेल हुने एमाओवादी मन्त्रीहरुले आफ्ना छोरा, भतिजा एवं ज्वाइँ र सालाहरुलाई स्वकीय सचिव एवं निजी सचिव भर्ती गर्ने गरेका थिए ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जारी गरेको आचार संहिताको १० नम्बर बुँदामा मन्त्रीका परिवारका सदस्यले मन्त्रालयमा आएर वा नआई सरकारी काममा हस्तक्षेप गर्न नपाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी मन्त्रीले नै भाग लिनुपर्ने आवश्यक काममा बाहेक एमाओवादी मन्त्रीले विदेश भ्रमण नगर्ने, कार्यालय खुल्ने समयमा मन्त्रालयमै हाजिर भई काम गर्नुपर्ने तथा मन्त्री बनेको र छाडेको १० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने आचार संहितामा उल्लेख छ ।