काठमाडौ १० कार्तिक ।
व्यवस्थापिका संसदमा भोली हुने राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुदैछ । त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार दिउासो साँढे एक बजे दर्ता भएको उमेदवारको नामावली प्रकाशन गरिने छ ।
दिउासो साँढे दुई बजेसम्म दावी विरोध र उमेदवारी फिर्ताका लागि समय दिई अपरान्न ३ बजे उमेदवारको अन्तिम नामावली सार्वजनिक गरिने सचिवालयका सहयक प्रवक्त सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पदका लागि नेकपा एमालेले सत्तारुढ गठबन्धनका तर्फबाट पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै एकीकृत माओवादीले राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने निर्णय गर्दै उपराष्ट्रपति पदका लागि पार्टी स्थायी समिति सदस्य नन्दकिशोर पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न दलहरु असफल भएपछि संसदमा बहुमतीय प्रक्रिया सुरु भएको हो । उमेदवारी दर्तापछि भोली बिहान ११ बजेदेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।
यसैबीच नेपाली कांग्रेसले पनि राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि पार्टीका तर्फबाट दिने उमेदवारको नाम आज टुङ्गो लगाउने बताएको छ ।