काठमाडौं, ९ कार्तिक ।
पाल्पामा बिरामी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा थप पाँच जना गम्भीर घाइते भएका छन् ।
पाल्पाको झिरुवासबाट रामपुर अस्पतालका लागि छुटेकोे लु १ ज २६४७ नम्बरको जीप गएराति १२ बजे झिरुबास–७ लाकुरी भञ्याङ नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा झिरुवास–६ का २४ वर्षीय झनबहादुर पाटा, १९ वर्षीय गुणसिंह ठकुरी र २३ वर्षीय युवराज खाम्चाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । पाटा र ठकुरीको घटनास्थलमै मृत्यु भएको थियो खाम्चाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा पाल्पा रामपुरका २४ वर्षीय लक्ष्मण मल्ल, झिरुवास–६ का ३० वर्षीय लालबहादुर थापा, ५६ वर्षीय खेम मल्ल, २७ वर्षीय मनबहादुर मल्ल, २४ वर्षीय इन्द्रबहादुर खाम्चा रहेका छन् ।
घाइतेहरुको रामपुर अस्पतालमा प्राथमिक उपचार पछि तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको प्रहरीले जनाएको छ ।