चितवन, ७ कात्तिक ।
युवा सङ्घका अध्यक्ष राजिब पहारीले बाम र लोकतान्त्रिक शक्ति मिलाउने काममा आफ्नो नेतृत्वले भूमिका खेल्ने बताउनुभएको छ ।
युवा सङ्घ चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पहारीले आन्दोलनमा सङ्गठित भए झै विकास निर्माणमा पनि कम्युनिष्ट पार्टीबीचमा कार्यगत एकताका लागि दबाब दिने बताउनुभयो ।
आपूmले सङ्घको नेतृत्व लिए लगत्तै यसका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेको भन्दै उहाँले अब अन्य कम्युनिष्ट घटकका नेतृत्वसँग भेटघाट गरी एकताको पक्षमा पहल गर्ने उल्लेख गर्नु भयो ।
विगतका आन्दोलनमा एक जुट भएझै आउदो दश वर्षसम्म देश विकासका लागि एक जुट हुन आपूmले नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत भेटेर आग्रह गरेको उहॉले बताउनुभयो ।
भारतीय नाकाबन्दीको आलोचना गर्दै उहाँले राष्ट्रिय स्वाधिनतालाई तेल र फास्टट्र्याकसँग सम्झौता नगर्न सरकारलाई खवरदारी गर्दै युवा सङ्घले यसको विरुद्धमा चार लाख हस्ताक्षर सङ्कलन गरिसकेको बताउनुभयो ।
परनिर्भरतालाई अन्त्य गर्दै आत्म निर्भरतालाई प्रश्रय दिनुपर्ने भन्दै उहाँले युवा शक्ति उत्पादनमूलक कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।