म्याग्दी, ७ कात्तिक ।
म्याग्दी जिल्लामा सञ्चालन भइरहेका ७२७ वटा साना तथा घरेलु उद्योगमा करिब रु एक अर्ब ६० करोडको लगानी भएको छ ।
यस जिल्लामा अहिलेसम्म सञ्चालनमा आएका उद्योगको सङ्ख्या ७२७ पुगेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जानकारी दिएको छ ।
गत आवको अन्त्यसम्म जिल्लामा ६०० वटा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको देखिएको छ । सबै उद्योगमा गरी करिब रु एक अर्ब ६० करोडको लगानी भएको समितिले बताएको छ । म्याग्दीमा पोल्टीफार्म, राइसमिल, फर्निचर, दूध डेरी र मोबाइल मर्मत केन्द्र थपिँदै गएका छन् ।
घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा २१२ पोल्टीफार्म, ७६ राइसमिल, ३२ वटा फर्निचर उद्योग, ७९ वटा दूध डेरीलगायतका साना तथा घरेलु उद्योग सञ्चालन भइरहेका छन् । यी सबै उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष गरी करिब पाँच हजार जनाले रोजगारी पाइरहेको अनुमान छ । यी उद्योगमा मासिक रु ३० करोडभन्दा बढीको कारोबार हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको समितिले बताएको छ ।