काठमाण्डौ,७ कात्तिक ।
नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनको प्रक्रिया आजबाट सुरु हुदैछ । व्यवस्थापिका संसद अधिवेशन आह्वान भएको ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्नुपर्ने व्यवस्था भएकाले त्यस अनुसार तयारी सुरु भएको संसद सचिवालय जनाएको छ ।
संसदको आज अपरान्न ३ बजे बस्ने बैठकले राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्नेछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ ।
राष्ट्रपति निर्वाचनको लागि कार्यतालिका प्रकाशित गर्ने संसद सचिवालयका सहायक प्रबक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो । उहाका अनुसार सुरुमा सहमतिको आधारमा राष्ट्रपति चयनको लागि दलहरुलाई समय दिइने र नभएमा चुनावी प्रक्रिया सुरु हुनेछ ।
दसैं लगत्तै नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भैसक्ने भएकाले दलहरु पनि आवश्यक गृहकार्यमा जुटेका छन् । तर राष्ट्रपतिको उम्मेदवारबारे अझै यकिन भैसकेको छैन । यसअघि कांग्रेसले प्रधानमन्त्रीको चुनावमा सहमति तोडेको भन्दै एमाले र एकीकृत माओवादीले सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बनाउने तयारी गरेका छन ।
तर कांग्रेसलाई राष्ट्रपति दिनेबारे पनि सत्तारुढ दलहरुभित्र छलफल भैरहेको छ । नयाँ संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन भने भैसकेको छ । सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने सम्भावना छ ।