काठमाण्डौ,५ कात्तिक ।
नेपाल आइसीसी अन्डर १९ विश्वकप क्रिकेटमा छनोट भएको छ ।
मलेसियाको किन्रारा ओभल मैदानमा आज भएको फाइनल खेलमा आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपालले अर्को बर्ष बंगलादेशमा हुने बिश्वकपमा स्थान बनाएको हो ।
आयरल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछा्एको नेपालले ४६ ओभर २ वलमा ७ विकेट गुमाएर भेट्टायो । अन्तिम वलमा सौरभ खनालले विजयी छक्का प्रहार गरेपछि नेपालले बंगलादेश यात्रा तय गरेको हो ।
नेपालले अर्को बर्ष टेष्ट मान्यता प्राप्त १० राष्ट्रसहित अफ्गानिस्तान, नामिबिया, क्यानाडा, फिजी र स्कटल्याण्डसँगै प्रतिस्पर्धा गर्नेछ । सौरभ १६ र प्रेम तामाङ्ग एक रनमा नटआउट रहे । दोस्रो ओभरमा टोलीको स्कोर शुन्य हुँदा पहिलो विकेट गुमाएको नेपालको ईनिङ्गस् उकास्न सुनिल धमलाले ४७ र कप्तान राजु रिजालले ३५ रन जोडे ।
दुवैले तेस्रो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । यस्तै दिपेन्द्र सिंह ऐरीले २६, आरिफ शेख २१, राजवीर सिंह १६, योगेन्द्रसिंह कार्की ११ रनमा आउट भए ।यसअघि, मलेसियाको किन्नारा ओभल मैदानमा टस जितेर व्याटिङ्ग गरेको आयरल्याण्डले ४७ दशमलव ४ ओभरमा पुरै विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।