काठमाडौँ, ३ कात्तिक ।
हनुमानढोका दरबारस्थित दसैँघरमा यस वर्षका लागि आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष फूलपातीका दिन विधि विधानपूर्वक फूलपाती भित्र्याइने परम्पराअनुसार आज राजकीय सम्मानका साथ जमलबाट फूलपाती ल्याइएको हो ।
हनुमानढोका दरबार हेरचाह अड्डाले अघिल्लो दिन केही कर्मचारीलाई फूलपाती लिन लिन धादिङको जीवनपुर पठाएको थियो । उनीहरुले अघिल्लो दिन राति त्यहाँ बोका, भेडालाई बली दिएर परम्परागतरुपमा भोज खाएर आज बिहान आँप, चाप, धानको बाला, रङ्गीचङ्गी फूल असुरो पात, बेलको पातसहित फूलपाती जमल ल्याएका थिए ।
मल्लकालीन समयदेखि चल्दै आएको फूलपाती भित्र्याउने सो परम्परालाई आधुनिक नेपालको विकास भएपछि शाहवंशीय शासनकालमा निरन्तरता दिँदै गोर्खाबाट समेत फूलपाती ल्याएर दसैँ घरमा मिसाउने गरिएको सो कार्यालयका निर्देशक सरस्वती सिंहले जानकारी दिनुभयो ।