पोखरा, ३ कार्तिक ।
नेपालीहरुको महान चाड विजया दसैँ, तिहार, छठ तथा ल्होछारमा हुनसक्ने आपराधिक घटना र सवारी दुर्घटना नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ ।
पोखरा र लेखनाथ उपत्यका, राजमार्ग र ग्रामीण भेगको सुरक्षा व्यवस्था व्यवस्थित एवम् सुदृढ गराउन विशेष सुरक्षा योजना ल्याएको प्रहरी उपरीक्षक हरिबहादुर पालले बताउनुभयो ।
यात्रुको बढी चाप हुने सार्वजनिक यातायातका साधनमा पाकेटमार, चोरी तथा लुटपाटका घटना हुन नदिन, बैंक तथा वित्तीय संस्था, गरगहना पसल तथा अन्य व्यापारिक केन्द्र, आर्थिक कारोबार तथा किनमेलमा चाप बढी हुने ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिने सो कार्यालयले जनाएको छ ।
प्रमुख पर्यटकीय, आवासीय क्षेत्र, बिदाका बेला बन्द भएका सरकारी तथा गैरसरकारी कार्यालय र रात्रिकालीन व्यवसाय हुने क्षेत्रलाई प्रहरीले संवेदनशील क्षेत्र मानेको छ ।