मधेसी मोर्चासँग वार्ताका लागि परराष्ट्रमन्त्री थापाको संयोजकत्वमा समिति

मधेसी मोर्चासँग वार्ताका लागि परराष्ट्रमन्त्री थापाको संयोजकत्वमा समिति

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २ कात्तिक ।

सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ताका लागि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि वार्ताका लागि पहिलो पटक समिति गठन गरिएको हो ।

आजको मन्त्रिपरिषद्को बैठकले गठन गरेको सो समितिमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा, बिनाविभागीयमन्त्री रामजनम चौधरी हुनुहुन्छ भने एक सदस्य प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट थप हुनेछ ।

बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले प्रधानमन्त्रीले काँग्रेस नेतृत्वसँग कुरा गरी समितिलाई पूर्णता दिइने बताउनुभयो । अघिल्लो सरकारका पालामा मोर्चासँग वार्ताका लागि वन तथा भूसंरक्षामन्त्री महेश आचार्यको संयोजकत्वमा नेकपा (एमाले) बाट तत्कालीन प्रमुख सचेतक खरेल र एमाओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको थियो ।

सो समितिले विभिन्न चरणमा वार्ता गरे पनि सहमति भएको थिएन । नयाँ समितिमा एमालेबाट पुनःकानुनमन्त्री खरेल पर्नुभएको छ भने एमाओवादीको प्रतिनिधित्व सामान्य प्रशासनमन्त्री शर्माले गर्नुहुनेछ । सरकार गठनपूर्व संविधानप्रति असन्तुष्ट मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का तर्फबाट मन्त्री चौधरी वार्ता समितिमा रहनुभएको छ ।

संविधानमा प्रदेशको सङ्ख्या र सीमाङ्कन, समानुपातिक, समावेशी, नागरिकतालगायत विषयमा असन्तुष्ट मोर्चा र थारु सङ्घर्ष समितिको आन्दोलनका कारण भारतीय सीमा क्षेत्रमा अघोषित नाकाबन्द भई एक महिनादेखि मुलुकमा पेट्रोलियम पदार्थको आपूर्ति असहज भइरहेको छ ।

गत असोज २४ गते प्रधानमन्त्री निर्वा्चित हुनुभएका ओलीले शनिबार मोर्चामा आबद्ध दलका अध्यक्षलाई पत्र पठाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह गर्नुभएको थियो । आइतबार त्यसको जवाफ दिँदै मोर्चाले तत्काल आन्दोलन रोक्न सम्भव नरहेको तर आफूहरु आगामी दिनमा परिणाममुखी र सार्थक वार्ता हुनुपर्ने पक्षमा रहेको जनाएको थियो । मोर्चामा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टी आबद्ध छन् ।

‘भारतमा रहेको अस्पष्टता स्पष्ट पारियो’

छिमेकी भारतको भ्रमणबाट आजै फर्कनुभएका परराष्ट्रमन्त्री थापाले भारतीय नेतृत्वलाई नेपालको नयाँ संविधानबारे उत्पन्न अन्योल र अष्पस्टतालाई स्पष्ट पारिएको तथा सीमाको ढुवानी अवरोधबारे आगामी दिनमा सहजता दिलाउन भारतीय पक्षबाट विश्वास प्राप्त भएको भनी बैठकमा अवगत गराउनुभयो ।
मन्त्री पाण्डेले वीरगन्जको रक्सौल नाका खोल्न भारतीय पक्षमा अझै हिच्किचाहट रहे पनि अन्य नाकाबाट सहजतापूर्वक आपूर्ति गराउन र दुई देशका बीचमा असमझदारी हटाई मिलेर अघि बढ्न भारतीय पक्ष तयार रहेको बैठकमा थापाले जानकारी गराएको जानकारी दिनुभयो ।

कैद भुक्तान व्यवस्थामा सरलता

दोस्रो पटक मन्त्रिपरिषद् विस्तारपछिका पहिलो बैठकले कारागार नियमावली संशोधन गर्दै आगामी दिनमा गम्भीर अपराध बाहेकका कैदीलाई ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष उमेर पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्था गरेको छ । मन्त्री पाण्डेयले नयाँ संविधान जारी भएका उपलक्ष्यमा विगतको ५० प्रतिशत कैद भुक्तान र ७० वर्ष उमेरपछि कैद मिनाहामा घटाउ गरिएको जनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी