काठमाण्डौ,२ कात्तिक ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सङ्घीयता र सीमाङ्कनका बारेमा एमालेलगायतका दलले जनतालाई सही तबरले बुझाउन नसक्दा तराई मधेसमा शङ्का पैदा हुनु स्वाभाविक भएको बताउनुभएको छ ।
नेकपा (एमाले) चन्द्रपुर नगर कमिटी तथा रौतहट–काठमाडाँै सम्पर्क मञ्चले आज विजयादशमी, शुभदीपावली र छठ पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मधेसको निम्ति संविधानमा विशेष अधिकार समावेश भएकाले यसको विरोध गर्नुको औचित्य नरहेको स्पष्ट गर्नुभयो ।
वार्ता र छलफलको माध्यमबाटै मधेसमा जारी आन्दोलनको सम्बोधन हुने भन्दै उहाँले अविलम्ब वार्ताका लागि स्पष्ट खाकासहित आउन आन्दोलनरत दललाई आग्रह गर्नुभयो ।
हालै जारी भएको संविधान विश्वकै उत्कृष्ट भएको चर्चा गर्दै उहाँले संविधानमा सबैका हकअधिकारको सुनिश्चितता गरिएकाले हकअधिकार पाइन भन्नु व्यर्थ भएको पनि बताउनुभयो ।