काठमाण्डौ,२ कात्तिक ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले मधेसमा देखिएको समस्या वार्ता र संवादबाटै समाधान गर्ने बताउनुभएको छ ।
भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आन्दोलनरत मधेसीवादी दललाई सरकारले पटक–पटक वार्तामा आउन आह्वान गरिसकेकाले आन्दोलन फिर्ता लिन आग्रह पनि गर्नुभयो ।
मन्त्री खरेलले इन्धनको सहज आपूर्ति हुन नसक्दा नेपाल र भारतबीचको सम्बन्धमा केही चिसोपना आएको बताउँदै कठिन परिस्थितिमा जारी भएको नेपालको संविधानलाई कार्यान्वयन लान सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
उहाँले वैचारिक धरातलमा उभिएर जारी भएको संविधानले नेपाली जनताको जीवनस्तरलाई माथि उकास्ने विश्वास व्यक्त गर्दै सर्वसाधारण जनताको जीवन कष्टकर बन्दै गएको अहिलेको अवस्थामा आन्दोलन दल लचिलो हुनुपर्ने बताउनुभयो ।
नेपाल सरकारको प्रवक्तासमेत रहनुभएको कानुनमन्त्री खरेलले नेपाल र भारतबीचको यो अवस्थालाई सहज बनाउन कूटनीतिक पहल भइरहेको जानकारी पनि दिनुभयो ।